टी-२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं । आयोजक भारत आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
इडेन गार्डेन्समा आइतबार भएको खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत समूह-१ बाट सेमिफाइनलमा पुगेको हो । अब भारतले फाइनल प्रवेशका लागि इंग्ल्यान्डको सामना गर्नेछ । वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्य भारतले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका लागि सञ्जु स्यामसनले अर्धशतक पारी खेले । उनी ५० बलमा १२ चौका र ४ छक्कासहित ९७ रन बनाउँदै अविजित रहे । स्यामसनलाई राम्रो साथ दिएका तिलक बर्माले १४ बलमा २७ रन जोडे । उनीहरूले २६ बलमा ४२ रनको साझेदारी गरे ।

ओपनर अभिषेक शर्मा १० रनमा आउट हुँदा कप्तान सूर्यकुमार यादव १८ रन बनाएर पेभेलियन फर्किएका थिए । हार्दिक पाण्डेयको नाममा १७ रन रह्यो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डर र सामर जोशेफले दुई-दुई विकेट लिँदा अकिल हुसेनले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि ओपनरद्वय शाई होप र रोस्टन चेसले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । होपले ३३ बलमा ३२ रन बनाउँदा चेसले २५ बलमै ४० रन जोडे ।विस्फोटक ब्याट्सम्यान शिमरोन हेटमायरले १२ बलमा २७ रन बनाउँदा शेर्फेन रदरफोर्डले १४ रन जोडे ।

रोभम्यान पावेल र जेसन होल्डरले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरे । पावेलले १९ बलमा ३४ रन बनाउँदा होल्डरले २२ बलमा ३७ रन जोडे । भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिँदा हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक-एक विकेट लिए ।

 


१७ फागुन २०८२, आइतवार २३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु