सुदुरपश्चिममा को बन्ला नेपाली कम्युनिस्ट पार्टीको इन्चार्ज ?
धनगढी । १९ कात्तिकमा काठमाडौंमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १२ दलबीचको एकता भयो। एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले एकताको सन्देशका लागि सुदूरपश्चिमबाट एकता सभाको सुरुवात गर्दछ । १२ मंसिरमा सुदूरपश्चिम प्रदेशमा एकता सन्देश दिने गरी सभा आयोजना गरेको छ। उक्त सभाभन्दा पहिला एकतामा आएका र प्रदेशमा संगठन भएका पार्टीहरूबीच एकता गरेर समिति बनाउने तयारी गरिएको छ। सुदूरपश्चिम प्रदेशमा मुख्य माओवादी केन्द्र, नेकपा एस र भीम रावलको जागरण अभियान छन् । अन्य पार्टीहरूको प्रतिनिधिमूलक सदस्यहरू हुन सक्ने नेताहरू बताउँछन् ।
माओवादीको प्रदेश समिति ५ सयजतिको र नेकपा एसको ३ सयजतिको छ । रावलको अभियान थपिँदा ९ सयजतिको प्रदेश समिति बन्न सक्ने माओवादीका सुदूरपश्चिम प्रदेश समिति सचिव जनक बुढा बताउँछन् । उनले भने, ‘तीनवटाबाट र अन्यका प्रतिनिधि जोड्दा ८/९ सयको समिति बन्छ होला । केन्द्रीय नेताहरू छलफलमा लाग्नुभएको छ ।’
अहिले प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको व्यवस्था गरेर अरु सदस्य बनाउने तयारी गरेको छ । सुदूरपश्चिममा इन्चार्ज रावललाई दिएमा संयोजक र सह–इन्चार्ज माओवादीले पाउने देखिन्छ । माओवादी स्रोतका अनुसार सुदूरपश्चिममा इन्चार्ज रावललाई बनाउने र संयोजक र सह–इन्चार्ज माओवादीले पाउनेछ । उक्त स्रोतले भन्यो, ‘भीव रावलजीलाई इन्चार्ज बनाउने तयारी छ । संयोजक माओवादी र सह–संयोजक नेकपा एसले पाउने देखिन्छ । सह–इन्चार्ज पनि माओवादी र एसले पाउने होला ।’
७ मंसिर २०८२, आइतवार १०:५६ बजे प्रकाशित













