अत्तरियामा रहेको दुग्ध विकास संस्थान धनगढी सार्ने सम्झौताको विरोध

धनगढी । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान डीडीसी लाई अत्तरियामै रोक्न जग्गा खोज्ने प्रक्रिया चलिरहँदा डीडीसीका कार्यालय प्रमुखले सार्ने सम्झौता भइसकेको बताएका छन् । बिहीबार सार्ने काम सुरु भएको भन्दै स्थानीयले डीडीसीको कार्यालयमा पुगेर सोधपुछ गर्दा कार्यालयका प्रमुख निरञ्जन भट्टराईले सार्ने सम्झौता भइसकेको भन्दै अब रोक्न नसकिने बताएका हुन । उनले माघ महिनामै अत्तरियाबाट धनगढी सार्ने सम्झौता भइसकेकाले अब नरोकिने बताएपछि स्थानीयले विरोध जनाउँदै १ घण्टा कार्यालय प्रमुखलाई कार्यकक्षमा थुनेका थिए भने प्रहरीले कार्यालय प्रमुखलाई बाहिर निकालेपछि स्थानीयले तालाबन्दी गरेका छन् ।

कार्यालय प्रमुख भट्टराईले माघ महिनामै धनगढी सार्ने सम्झौता भइसकेको बताए पनि हालसम्म उक्त कुरा गोप्य राखेका छन् । बिहीबार कार्यालय प्रमुख भट्टराईले एक्कासि डीडीसी सार्ने सम्झौता माघ मै भएकाले अब नरोकिने बताए पनि उनले सम्झौता पत्र भने देखाउन मानेनन् । सुरुमा आधिकारिक रूपमा सूचना माग गर्न निवेदन दिन लगाएका उनले पछि सम्झौता पत्र केन्द्रीय कार्यालयमा रहेको भन्दै आलटाल गरेपछि स्थानीय झन् भड्किएका थिए । बिहीबार तालाबन्दी गरेका स्थानीयले शुक्रवार देखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् ।

जग्गा प्राप्तिका लागि बनेको कार्यदलका संयोजक एवम् वडाध्यक्ष गोपाल दत्त भट्टले जग्गा खोजीको काम जारी हुँदा हुँदै सुटुक्क हाकिमले धनगढी सार्ने सम्झौता गरेको बताए ।

उनले कार्यालय प्रमुखलाई आवश्यक पर्ने जग्गा संरचना बनाउने सहयोग गर्ने भन्दा पनि आनाकानी गरेको बताए । स्थानीय लोक राज पाण्डे आगो ले हाकिम लगायत डीडीसीको माथिल्लो निकायसम्म कुरा गर्दा पनि अत्तरियाबाट खुसुक्क सार्ने तयारी गरिएको बताए । ‘

पुर्ववडाध्यक्ष शर्मानन्द भट्टले जग्गा व्यवस्थापनका लागि नजिकै रहेको चाहना महिला सामुदायिक वन सँग सहमति लिइसकेको भए पनि डीडीसीका हाकिमले राती राती सामान सारिरहेको बताए । उनले स्थानीयको आवाजलाई सामान्य रूपमा लिइए आन्दोलन चर्किने बताए । स्थानीय धर्म सिंह कुँवरले हाकिमले कसैको कुरा नसुनेर मनोमानी गरेकाले आन्दोलनका कार्यक्रम अगाडि बढाएको बताए ।

पहिलो पटक अत्तरियामा जग्गा नपाइएको भन्दै डीडीसीलाई धनगढी सार्ने कुरा बाहिरिएपछि पुस १६ गते स्थानीयले डीडीसी कार्यालयमा पुगेर विरोध जनाएका थिए ।
करिब ६ हजार किसानको दूध सङ्कलन गर्दै आएको छ । यस्तै उत्पादित दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुरमा बिक्री गर्दै आएको छ ।

डीडीसी अत्तरियामा प्रत्यक्ष रूपमा ३० जना १६ जना करार, १४ जना स्थायी ले रोजगारी पाएका छ । डीडीसीको क्षेत्र विस्तार गर्न आवश्यक भएको भन्दै उक्त कार्यालयले गोदावरी क्षेत्रमा जग्गा नपाइएको भन्दै धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा सार्ने बताइँदै आएको छ ।


९ जेठ २०८२, शुक्रवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु