शिक्षक आन्दोलन : झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान
काठमाडौ। नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीले झडप गरेपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्।
आन्दोलन उग्र भएपछि महासंघले आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माविमा बैठक बोलाएको हो। बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू तथा आन्दोलन परिचालन समितिका सदस्यहरूलाई सहभागी हुन भनिएको छ। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बैठकमा आजको घटना र समग्र आन्दोलनको विषयमा छलफल हुनेछ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा प्रयोग गरेको थियो। प्रहरीको बल प्रयोगपछि शिक्षकहरू प्रतिकारमा उत्रिएर सडकछेउका ढुंगामुढा प्रहार गरेका थिए।
१४ वैशाख २०८२, आइतवार १३:०९ बजे प्रकाशित













