दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा परी १८ जनाको मृत्यु
भारत । भारतको राजधानी नयाँदिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।
प्रयागराजमा जारी महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबिच रेल चढ्ने क्रममा भागदौड भएको हो ।
घटनामा अन्य ११ जना घाइते भएका छन्। तीमध्ये अधिकांशको अवस्था स्थिर रहेको र हाडजोर्नीमा चोट लागेको नयाँदिल्लीस्थित लोकनायक अस्पतालकी डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले एएफपीसँग बताइन् ।
दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
४ फागुन २०८१, आइतवार १३:२५ बजे प्रकाशित













