अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पौडेल कीर्तिपुर वर्न अस्पताल पुगे
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेल आइतबार बिहान सो अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदिप पौडेल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरण किशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।
आजै सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । मन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई आइसीयूमा राखेर उपचार भइरहेको छ ।
४ फागुन २०८१, आइतवार ११:५७ बजे प्रकाशित













