झापाको केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार, आठ सुरक्षाकर्मी घाइते

झापा । झापाको केर्खामा हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको हो ।

आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् । आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् ।

त्यस्तै स्थानीयले ढुङ्गामुढा गर्दा घटनास्थलनजिकै रहेको मे १ ख २७४४ नम्बरको न्यु सूर्योदय यातायात यात्रुवाहक बसको अगाडीको सिसा चर्किएको छ । त्यस्तै बायाँ साइडको ४/५ वटा झ्यालको सिसा फुटेको छ । जस कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो ।

काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बूको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो । उनीहरूको शव सडकमा राखिएको छ ।

मृतक बालिकाको बुधबार जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो । बस र बस चालक शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय विशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


८ कात्तिक २०८१, बिहीवार ००:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु