पहिरोमा पुरिएर बडिकेदारमा श्रीमान्–श्रीमती घाइते
डोटीको बडिकेदार गाउँपालिकामा पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । घाइते हुनेमा श्रीमान–श्रीमती रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएका हुन् । भागरथीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । ‘पहिरोले च्यापिएको अवस्थामा उनीहरुको उद्दार गरिएको हो’ भट्टराईले भने, ‘पानी परिरहेकाले उपचारका लागि स्वास्थ्य संस्था सम्म पुगाउन समस्या भइरहेको छ ।’ पहिरोमा पुरिएर दर्जन बढि खसीबोका र चार गाईगोरु मरेको बताईएको छ ।
२८ भदौ २०८१, शुक्रवार १२:०६ बजे प्रकाशित













