कञ्चनपुरमा बाघ नियन्त्रण लिने प्रयास जारी, प्राविधिकसहित पाँच हात्ती परिचालन

कञ्चनपुर, साउन १८ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलमा आक्रमण गरेर महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिने प्रयास दोस्रो दिन पनि जारी राखिएको छ ।

बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ घण्टासम्मको प्रयास असफल भएपछि शुक्रबार बिहानैदेखि पुनः हात्तीसहित प्राविधिक परिचालन गरिएको हो ।

बिहीबार राति निकुञ्जका कर्मचारी र सुरक्षाकर्मी पहरा दिएर उखुबारीनजिकै बसेका थिए । बाघलाई अल्झाउन उखुबारीमा पाडो पनि बाँधिएको थियो ।

बिहीबार पूरै उखुबारीलाई कपडाले घेरेर ४ वटा हात्ती र लोडरको सहायताले बाघलाई नियन्त्रणमा लिने ४ घण्टासम्मको प्रयास असफल भएको थियो ।

आज एक हात्ती थपिएर बाघ नियन्त्रणमा लिने कार्य जारी राखिएको छ । बाघलाई डार्ट गरेर नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली आएको छ ।

बिहीबार बिहान घरनजिकैको खेतबारीमा घाँस काटिरहेकी २६ वर्षीया हिरादेवी शाहको बाघको आक्रमणबाट मृत्यु भएको हो ।


१८ साउन २०८१, शुक्रवार ०९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु