महिलाको ज्यान लिने बाघ नियन्त्रणमा लिइयो

धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा महिलालाई आक्रमण गरेर ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो ।
बिहीबार बिहान घरनजिकैको खेतबारीमा घाँस काटिरहेकी २६ वर्षीया हिरादेवी शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ घण्टासम्मको प्रयास असफल भएपछि आज (शुक्रबार) दोस्रो दिन बिहानैदेखि पुनः हात्तीसहित प्राविधिक परिचालन गरिएको थियो ।
बिहीबार राति निकुञ्जका कर्मचारी र सुरक्षाकर्मी पहरा दिएर उखुबारीनजिकै बसेका थिए । बाघलाई अल्झाउन उखुबारीमा पाडो पनि बाँधिएको थियो ।
बिहीबार पूरै उखुबारीलाई कपडाले घेरेर ४ वटा हात्ती र लोडरको सहायताले बाघलाई नियन्त्रणमा लिने ४ घण्टासम्मको प्रयास असफल भएको थियो ।
१८ साउन २०८१, शुक्रवार १०:५४ बजे प्रकाशित