राजनीतिक अवसर नपाएको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो
धनगढी । अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक अवसर नपाइएको नेत्रहीन युवाहरुले गुनासो गरेका छन् ।
नेत्रहीन युवासंघ कैलालीद्वारा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता र नागरिक संलग्नता कार्यक्रम बुधबार समापन गर्दै उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
समापन कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गता भएका व्यक्तिले राजनीति अवसर नपाउने समस्या समाधान गर्न राज्य अग्रसर हुनुपर्ने माग गरे ।
नेत्रहिन युवासंघ नेपालका केन्द्रीय महासचिव अर्जुन रावलले परियोजनाले अपांगता भएका व्यक्तिको राजनीतिक पहुँच बृद्धिमा सहयोग पुगेको बताए।
उनले राज्य र राजनीतिक दलहरूले समावेशी सिद्धान्त र अवधारणालाई पूर्ण कार्यान्वयन गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक निर्वाचित निकाय र पार्टी संयन्त्रमा पुगाउनुपर्ने बताए । उनले आगामी दिनमा नेत्रहीनसहित अपांगता भएका व्यक्तिका पक्षमा संघ र प्रदेश सरकारबाट उचित नीति निर्माण हुने अपेक्षा व्यक्त गरे।
पत्रकार भवानी ऐरले अपाङ्गता भएका नागरिकका लागि बनाइएका कानून र नियमको पूर्ण पालना नभएको बताए। उनले राज्य र सम्बद्ध पक्षले अपाङ्गता भएका व्यक्तिका अधिकार संरक्षण गर्न प्रतिबद्ध हुनुपर्ने बताए।
नेत्रहीन तथा अपांगता भएका व्यक्तिहरुको राजनीतिक पहुँच बृद्धि र अपाङ्गता भएका व्यक्तिको सवालमा संघ र प्रदेश सरकारलाई नीति निर्माण गर्न दबाब दिने उद्देश्यका साथ एक वर्ष अघिदेखि परियोजना सञ्चालन रहेको थियो।
१७ साउन २०८१, बिहीवार १८:०९ बजे प्रकाशित













