अन्डाको मूल्य बढ्यो, प्रतिगोटा कति पुग्यो ?

चितवन । चितवनका किसानले पाँच वर्षपछि अन्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो ।

किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो चार सय ९५ र मध्यम चार सय ७० रुपैयाँ पाउन थालेका छन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताए ।

‘२०७६ सालमा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अन्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेको थियो,’ उनले भने । त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ ।

२०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर संघ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो । त्यतिबेला अन्डाको मूल्य प्रतिक्रेट दुई सय ३० रुपैयाँ थियो । उक्त मूल्यमा अन्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।

उनका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसा नै छाडेको अवस्था थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताए ।

पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो संख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उनको भनाइ छ ।

अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अन्डा उत्पादन भइरहेको उनले जानकारी दिए । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेसाबाट बिमुख भएकाले कुखुराको संख्या घटेको उनले बताए ।

 


१६ असार २०८१, आइतवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु