साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

अछाम । साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रवार बसेको नगरसभाको १३औं अधिवेशनमा नगर उपप्रमुख शिबबहादुर कुँवरले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा
कृषि, खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी, फलफुल,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने बताए ।

यस्तै पशुपक्षी तर्फ दुध मासु र अण्डामा आत्मनिर्भर गर्ने भनी लिएको नीति तथा लक्ष्य अनुसार यस नगरपालिकालाई पनि आत्मनिर्भर बनाउन पशुपालन व्यवसाय संचालन गर्न युवा जनशक्तिलाई प्रोत्साहन गरी युवा लक्षित कार्यक्रमलाई (भैंसीपालन, बाख्रापालन, कुखुरापालन)मा जोड दिइने, विश्वकै सानो र दुर्लभ अछामी नौमुठे गाईको संरक्षण, सम्बर्धन, प्रबर्द्धन गरी उत्पादन र उत्पादकत्वमा विशेष जोड दिइने, पशु उपचार तथा पशु स्वास्थ शिविर सञ्चालन गरिने उल्लेख छ ।

यस्तै नीति तथा कार्यक्रममा पर्यटन,सस्कृति तथा साहित्य तर्फ नगरभित्रका लोकसंस्कृति, रितिरिवाज, रहनसहन परम्परा र पञ्चैबाजाको संरक्षण र सम्बर्धन गरिने, पहलमान सिँह स्वारको सम्झनामा साहित्य कार्यक्रम संचालन गरिने, बयालपाटा अस्पतालको लागि साँफेबगरमा भएका घटनाको स्मरण किताब प्रकाशन गरिने, पर्यटन संस्कृति तथा साहित्य मञ्च गठन गरिने, सुदूरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा केवुलकार सेवा सञ्चालन गर्न उनीसैनदेखि सहस्रलिंगसम्म केबुलकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न पहल गरिनेलगायतका कार्यक्रम उल्लेख छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा डेढ करोडको राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । साथै नगरपालिकाले चालु आर्थिक वर्षका प्रमुख उपलब्धीहरु पनि सार्बजनिक गरेको छ ।

नगरसभाका सभाध्यक्ष तथा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।


७ असार २०८१, शुक्रवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु