कतारबाट अवैध सुन ल्याएको आरोपमा तीन जना पक्राउ

काठमाडौ, असार ७ । कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा प्रहरीले काठमाडौंको सिनामंगलबार तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङलाई पक्राउ गरेको हो ।

कतारबाट आएको हिमालय एयरको जहाजमार्फत उनीहरुले भन्सार छलेर ८१ ग्रामभन्दा बढी सुन ल्याएको आरोप लागेको छ ।

कतारबाट–६ असारमा आएका खाँलाई सिनामंगलबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन भेटिएको थियो ।

जिन्स पाइन्टको कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर उनले कतारदेखि सुन ल्याएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

खाँले ल्याएको सुन रिसिभ गर्न आएको अवस्थामा परियार र गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।


७ असार २०८१, शुक्रवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु