ललितपुर मेयर्स कपमा सुदूरपश्चिमको विजयी सुरुवात
धनगढी । ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर ११ लाई डकवर्थ लेविस पद्धतिको आधारमा १६ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
१२३ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ओभरमा २ विकेट गुमाउँदै ४५ रन बनाएको थियो । वर्षाको कारण त्यसपछि खेल हुन नसकेपछि डकवर्थ लेविसमा सुदूरपश्चिम विजयी भएको हो ।
कप्तान पूजा महतो १४ र सरस्वती जिएम १२ रनमा नट आउट रहिन् । लक्ष्मी चौधरी १० र साना प्रविन ६ रनमा आउट भइन् । सुदूरपश्चिमकी ऋतु कनौडिया र जानकी थापाले १÷१ विकेट लिइन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । सुदूपश्चिमकी कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकासहित ३० रन बनाइन् । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिइन् ।
कविता जोशी २० बलमा २ छक्कासहित २५, लक्ष्मी साउद १५, सावित्री धामी १०, सम्झना खड्का १३ र रुवि पोदार २ रनमा आउट भइन् ।
ललितपुर मेयर्स–११ की आरती महतो र कृतिका मरासिनीले २–२ विकेट लिइन् । पूजा महतो र तिर्सना विश्वकर्माले १÷१ विकेट लिइन् ।
पहिलो खेलमा ललितपुरले बागमती प्रदेशलाई ७ विकेटले हराएको थियो ।
३० वैशाख २०८१, आइतवार १४:१३ बजे प्रकाशित































