बालकुमारी घटना:सरकार र मृतकका परिवारबीच चार बुँदे सहमति

सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ।
सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारबीच चार बुँदे सहमति भएको हो।

गत शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो। दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् भने वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले  हस्ताक्षर गरेका छन्।

मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेको छ । त्यसबाहेक मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो।
सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ।

दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले आजै बुझ्ने पनि सहमति भएको छ । शव सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ।


१६ पुस २०८०, सोमवार १८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु