संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै बैठक आज (शुक्रबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुवै सदनका बैठकहरूमा अवरोध जारी राखेकापछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ भने दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । एमालेले अवरोध नगरे राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू जानकारी गराउने कार्यसूची छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेसहितको कार्यसूची छ ।

त्यस्तै, प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी पनि गराउने छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यक्रम छ । यद्यपि मन्त्री गुरुङ भने अस्वस्थ छन् ।


२६ साउन २०८०, शुक्रवार ०८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु