अजयमेरु गाउँपालिकाले आफ्नै पालिका गान र लोगो बनाउने

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पालिका गान र लोगो बनाउने भएको छ । अजयमेरुको पहिचान झल्किने गरी गाउँपालिकाले लोगो र गान तयार गर्न लागेको हो ।

गाउँपालिकाले पालिका गान र लोगो तयार गर्नका लागि इच्छुक गीतकार तथा कलाकारलाई पालिकाको गान र लोगो तयार गर्न बिहीबार सार्वजनिक सूचना जारी गरी आह्वान गरेको छ ।

भदौ ११ गतेसम्म गाउँपालिकाको कार्यालयमा गाउँपालिकाको लोगो तथा गानको रचना गरी छुट्टाछुट्टै शिलबन्दी खाम पेश गर्न आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, भाषिक, साँस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तथा लोगो तयार गर्न खुला रूपमा आह्वान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले जानकारी दिए।

पालिका गान घटीमा ५० शब्द र बढीमा ६० शब्द हुनुपर्नेछ।
पालिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा गाउँपालिकाको मौलिक विशिष्टता झल्कने हुनुपर्ने र पालिकाको गान र लोगोको मूल्याङ्कन छनोट समितिबाट गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत सेटीले बताए। रचनाकारले पालिका गान र लोगोमध्ये कुनै एक वा दुवै विद्यामा प्रतिस्पर्धा गर्न पाउनेछन्।


११ साउन २०८०, बिहीवार २३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु