कैलालीमा गर्मीले कष्टकर बन्यो जनजीवन, दैनिक ज्यालादारी गर्ने बढी मारमा

कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ। कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ।

दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ। रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछन्। यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ।

‘गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ’, मायाले भने, ‘दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन। केही दिनदेखि गाह्रो भएको छ।’

अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउँछन्।

‘यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन’, उनी भन्छन्, ‘कहिलेकाहीँ त मुटु पनि दुख्छ। हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन।’

विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउँछिन्। ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ।

‘गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि लचाए पो कमाइ हुन्छ’, उनी भन्छिन्, ‘थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ। महिलालाई त कठिन मात्र।’

राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ। उनी भन्छन्, ‘बाटा राम्रो छैनन्। धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ। गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन्।’

गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ। दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सकेका छैनन्।

‘घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु। साथीहरुले अस्पताल लगेर उपचार गरेर बचाए’, राधेश्यामले भने, ‘त्यसपछि काममा गएको छैन। पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु।’

राधेश्यामजस्तै अन्य कामदारसमेत गर्मीले नियमित काममा जान सकेका छैनन्। गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन्।

तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता समस्या देखा पर्छन्। गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ।


३२ जेठ २०८०, बिहीवार १०:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु