अर्थमन्त्री महतको दाबी- बजेट अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको छ
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका छन् ।
कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले सोमबार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका हुन् ।
‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ । बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ,’ उनले भने । निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उनको भनाइ छ ।
अर्थमन्त्री डा. महतले आफ्नो अठोट देश र जनताप्रति भएको बताए । ‘हाम्रा आकांक्षाहरू धेरै छन् तर स्रोत र साधन सीमित छन् । भएका स्रोतसाधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ, ‘ उनले भने । कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताए । पार्टीभित्र एकअर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उनको भनाइ थियो ।
उनले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताए । पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उनको भनाइ छ । व्यक्ति पार्टीभन्दा ठूलो बन्न नसक्ने उनको भनाइ छ ।
२९ जेठ २०८०, सोमवार १२:३१ बजे प्रकाशित













