नेकपा विवाद : चिनियाँ राजदूत यान्छी सक्रिय, प्रचण्डलाई दिइन् यस्तो सुझाव
काठमाडौं, असार २६ । नेकपाको विवाद भएपछि अहिले नेपालका लागि चिनियाँ राजदूरत होय यान्छीको दौडधुप बढेको छ । पछिल्लो पटक यान्छीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छिन् ।
दाहाल निवास खुमलटारमा पुगेर भेटेकी राजदूत यान्छीले नेकपाभित्रको आन्तरिक विवादबारे चासो राखेको र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेरै अघि बढ्न आग्रह गरेको बुझिएको छ ।
दाहालनिकट स्रोतले दिएको जानकारीअनुसार अहिले ओलीसँग मिलेर जाँदा दाहालको हित हुनेतर्फ राजदूत यान्छीले आग्रह गरेकी छिन् । उनले यसअघि बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालसँगपनि छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
राजदूत यान्छीले दाहालसँगको भेटमा आगामी निर्वाचन र पार्टीको एकता महाधिवेशनसम्म ओलीलाई साथ दिन आग्रह गरेको बुझिएको छ । सत्तारुढ नेकपाको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ ।
दुई अध्यक्षबीच सहमति खोज्ने प्रयासस्वरुप पछिल्ला दिनहरुमा बैठक स्थगित् गरिएका छन् । स्थायी कमिटीको बैठक भोलि विहान ११ बजेलाई तय गरिएको छ । यो बीचमा दुई अध्यक्षबीच सहमतिको खातिर पटक पटक एक्लाएक्लै भेटवार्ताहरुपनि भैरहेका छन् । तर, उनीहरुबीच सहमति भने भैसकेको छैन् ।
२६ असार २०७७, शुक्रवार ०४:३० बजे प्रकाशित





























