आजै सुदूरपश्चिम सरकार विस्तारको तयारी, पहिलो चरणमा बन्ने मन्त्री को को छन् ?
कैलाली । आज सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमल शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै छन् । त्यस लगत्तै प्रदेश सरकारको विस्तारको तयारी समेत गरिएको छ ।
पहिलो चरणमा मुख्यमन्त्रीले दुई मन्त्री लाई नियुक्त गर्ने स्रोतको दाबी छ । आजै नियुक्त हुने मन्त्रीको संख्या थपिन सक्छ । कांग्रेसबाट पहिलो चरणमा प्रकाश देउवा मन्त्री बन्ने छन् । उनको मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन । उनले भौतिक, आर्थिक र सामाजिकमा चासो देखाएका छन् । कांग्रेसबाट आजै अर्काे मन्त्री पनि नियुक्त हुने अवस्थामा मेघराज खड्काको सम्भावना बढिरहेको स्रोतको दाबी छ । अछामबाट प्रत्यक्ष निर्वाचित खड्का कांग्रेस प्रदेश महामन्त्री समेत हुन् ।
यता आजै कांग्रेससँगै नेकपा एकीकृत समाजवादीबाट पनि एक मन्त्री नियुक्त हुने सम्भावना छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र प्रकाश रावल मध्ये एकलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ ।
२७ माघ २०७९, शुक्रवार ०८:११ बजे प्रकाशित































