एकैदिन ६ नेपाली फिल्म चलाउने होड
आगामी वैशाख १ गतेको लागि ६ वटा फिल्महरुले प्रदर्शन मिति तय गरिसकेका छन्। सुरुमा ‘भगवत् गीता’ ले वैशाख १ को लागि प्रदर्शन मिति ‘फिक्स’ गरेको थियो। त्यसपछि सोही दिन ‘रिलिज डेट’ घोषणा गरे फिल्म ‘जारी’, ‘नाइँ नभन्नु ल-६’, ‘प्रसाद-२’, ‘बिहे पास’ र ‘बुलाकी’ले।
यी फिल्म मध्ये छायाङ्कन सुरु नै नभएको ‘भगवत् गीता’ सोही मितिमा रिलिज हुने सम्भावना कम छ। दयाहाङ् राईको मुख्य भूमिका रहेका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ भने वैशाख १ मा नै एकआपसमा भिड्दैछन।
एकैदिन आफ्नै मुख्य भूमिका रहेका दुइटा फिल्म जुध्नुलाई अस्वभाविक भएको बताउँछन् अभिनेता दयाहाङ राई। ‘जारी’ र ‘बिहे पास’ एकै मितिमा जुध्न लागेको कुरा पहिले नै आफूलाई जानकारी नभएको दाबी गर्छन् उनी।
राईले भने,‘मलाई दुबै फिल्मको एउटै डेट होला भन्नेबारे थाहा थिएन। निर्माताहरुले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ। खै उहाँहरुले के कारण जुधाउनु भयो थाहा छैन। एकै दिन पाँचरछ फिल्म त्यसमाथि आफ्नै दुइटा फिल्म रिलिज हुनु अस्वभाविक लागिरहेको छ। यसबारे निर्मातासँग छलफल गर्छौं।’
कोरोना महामारीपछि फिल्म उद्योग पुरानो लयमा फर्किन सकिरहेको छैन। यो वर्ष चर्चित सिरिज ‘कबड्डी ४’ ले बक्सअफिसमा सर्वाधिक ‘कलेक्सन’ गरेता पनि फिल्म उद्योग पूर्णरुपमा तंग्रिन सकेको छैन। पछिल्लो तीनमहिना नेपाली फिल्महरुको ‘पर्फर्मेन्स’ले यही पुष्टि गर्छ।
तीनमहिना यता हलमा बहुप्रतिक्षित मानिएका फिल्महरु समेत रिलिज भए। जसमा पर्छन् आर्यन सिग्देल र उपासना सिंह ठकुरीको ‘डिसेम्बर फल्स’ देखि प्रियंका कार्की अभिनित ‘चि मुसी चि’ र साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्काको ‘तिम्रो मेरो साथ’ सम्म। तर, कुनै पनि कलाकारको ‘स्टारडम’ ले दर्शकलाई भने तान्न सकेन। हलमा फिल्मलाई तीनरचार दिन टिक्न समेत गाह्रो भयो।
कात्तिक ११ गते रिलिज भएको प्रदीप भट्टराईको ‘महापुरुष’ पछि कुनै पनि नेपाली फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेका छैनन्। बरु त्यसबिच प्रदर्शन भएका हलिउड फिल्म ‘अवतारस् वे अफ वाटर’ र बलिउड फिल्म ‘पठान’ ले दर्शकको ओइरो लगाइदियो। अहिले हलमा जितु नेपाल र साम्राज्ञी अभिनित ‘ह्यारीकी प्यारी’ प्रदर्शनरत छ। समीक्षात्मक हिसाबले कमजोर यस फिल्ममा पनि दर्शकको उपस्थिति उत्साहजनक छैन।
नेपाली फिल्मले दर्शक तान्न नसिरहेको अवस्थामा नयाँ वर्षको दिन ६(६ वटा फिल्म एकसाथ रिलिज गर्ने ध्याउन्नमा छन् निर्माताहरु। हुनत एउटै मितिमा फिल्म जुधाउनु नौलो ‘ट्रेन्ड’ भने होइन। तर, कोरोना महामारीपछि विस्तारै बामे सर्दै गरेको र तर दर्शकको अपेक्षामा खडा हुन नसकिरहेको बेला एकै दिन आधा दर्जन फिल्मले ‘डेट’ फिक्स गर्नु भने पक्कै शुभ संकेत होइन।
आगामी फागुन ५ लागि यसअघि ‘फूलबारी’, ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले ‘रिलिज डेट’ तोके। सो दिन फिल्म ‘फूलबारी’ प्रदर्शन हुने पक्का भए पनि अरु रिलिज हुने छाँटकाँट नै छैन। त्यसपछि निर्माताहरुको आँखा पर्यो फागुन १९ मा। शनिवार अनि फागुपुर्णिमा ९होली० को तीनदिन बिदा भएपछि यो मितिमा ‘रिलिज डेट’ तोक्न लोभिए उनीहरु। सोही दिनको लागि ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ सहित ‘परस्त्री’, ‘बुलाकी’, ‘वर एन्ड बधु’ ले प्रदर्शन मिति तोकेका छन्। तर, दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ र अनमोल केसी ‘छड्के २’ बिच टक्कर हुने पक्का भएपछि अरु फिल्म ‘पोस्टपोन्ड’ भए। एकै दिन प्रदर्शन तोक्न हतारो गर्ने, फेरि भागाभाग गर्ने शैली अहिले नेपाली फिल्म उद्योगको नयाँ ‘ट्रेन्ड’ जस्तै बनेको छ।
२७ माघ २०७९, शुक्रवार ०७:३१ बजे प्रकाशित































