सुदूरपश्चिमका चार जना जो दोहोरिए
सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकालमा सांसद रहेका ५३ मध्ये चार सांसद दोहोरिएका छन् । निवर्तमान भएका १३ जनाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रका दुई जना र एकीकृत समाजवादीका दुई सांसद दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।
उम्मेदवारी दिएकामध्ये कांग्रेसका दुई, एमालेका तीन, माओवादी केन्द्रका एक, एकीकृत समाजवादीका दुई र पहिलो कार्यकालमा एमालेबाट विजयी तथा अहिले नागरिक उन्मुक्तिबाट उम्मेदवार भएका एकसहित नौ जनाको प्रदेशसभामा दोहोरिने प्रयास सफल हुन सकेन ।
हाल प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रहेका माओवादी केन्द्रका मानबहादुर धामी दार्चुला (२) बाट र यसअघि सचेतक रहेका अछाम निर्वाचन क्षेत्र २ (२) बाट अक्कल रावल पुनः निर्वाचित भएका हुन् । धामीले एमालेका रामदत्त जोशीलाई पराजित गरे । रावलले एमाले उम्मेदवार भीमबहादुर बिस्टलाई पराजित गरेका हुन् ।
दोहोरिने अर्का दुई उम्मेदवार एकीकृत समाजवादीबाट हालका बहालवाला मन्त्री छन् । भौतिक पूर्वाधार विकास मन्त्री रहेका एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी कैलाली ४(१)र आर्थिक मामिला मन्त्री रहेका प्रकाशबहादुर रावल कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट पुनः निर्वाचित भएका हुन् । सोडारीले एमालेका भीमबहादुर देउवा र रावलले राप्रपाका धर्मराज जोशीलाई पराजित गरेका हुन् ।
पहिलो कार्यकालमा सांसद रहेका आफ्नो पार्टीका १२ जना कांग्रेसका सांसदमध्ये दोस्रो कार्यकालका लागि पनि उम्मेदवार बनाएका दुई जना भने पराजित भए । कांग्रेस संसदीय दलको नेता तथा बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र बहालवाला सामाजिक विकास मन्त्री गोविन्द बोहरा भने पराजित भए ।
२४ मंसिर २०७९, शनिवार १४:३२ बजे प्रकाशित












