आज सन्दीप लामिछाने मुद्दामा थुनछेक बहस हुँदै
क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको मुद्दामा आज थुनछेक बहस हुँदैछ । अदालतले बयान लिने काम हिजो सकेर आज थुनछेक बहस हुन लागेको हो ।
थुनछेक बहसपछि सन्दीपलाई साधारण तारेखमा छोड्ने, धरौटीमा छोड्ने अथवा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्नेमा एउटा आदेश हुनेछ ।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते अभियोगपत्र दायर भएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।
सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।
लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ ।
१६ कात्तिक २०७९, बुधवार ०९:०२ बजे प्रकाशित












