निर्वाचनमा सञ्चार माध्यमको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड

सञ्चार माध्यमले आफ्नो विश्वसनीयता बढाउन निर्वाचनमा निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको छ । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनमा निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । अन्य समयकै जस्तै निर्वाचनका समयमा पनि मिडियाले कुनै पनि राजनीतिक दलहरूको पक्ष वा विपक्षमा नरहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
विभिन्न राजनीतिक दलहरूको भातृसंगठनको रूपमा तथा दलहरूको आस्थासँग जोडिएका पत्रकारहरूको संघसंस्था तथा सङ्गठनहरू रहेको अवस्थामा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको अध्यक्ष पन्तले बताए ।
निर्वाचनको लोकतन्त्रको गहना भएको र सञ्चार कर्मी लोकतन्त्रको पहरेदार रहेको भन्दै अध्यक्ष पन्तले निर्वाचनको समयमा सञ्चार कर्मीहरूले पनि प्रभाव र दबाबमा नपरी निष्पक्ष, विश्वसनीय र तथ्यपरक समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्ने बताए ।
‘व्यक्तिगत रूपमा कुनै सञ्चार कर्मी कुनै पार्टीको विचार र सिद्धान्तसँग सहमत हुन सक्छन्, त्यो उसको अधिकार र स्वतन्त्रताको कुरा हो,’ उनले भने, ‘तर समाचार सङ्कलन र सप्रेषणको बेला ती आस्था र विचारलाई वाई पास गरी निष्पक्ष र स्वतन्त्र भई समाचार सङ्कलन गर्नुपर्छ ।,’ सञ्चार कर्मी र सञ्चार माध्यमले निर्वाचनको समाचार निष्पक्ष रूपमा गरेको खण्डमा सञ्चार कर्मी र सञ्चार माध्यकै विश्वसनीयता बढ्ने अध्यक्ष पन्तको भनाइ थियो । तर पछिल्लो समय यसमा केही सुधार भएपनि तर पत्रकारले दुवै तर्फ लाग्दा सञ्चार माध्यमको  विश्वसनीयता पनि घट्दै गएको बताए । अध्यक्ष पन्तले निर्वाचन आयोगले लागू गरेको आचारसंहिता राजनीतिक दल, उम्मेदवारले मात्रै नभई सञ्चार कर्मीहरूले पनि पालन गर्नुपर्ने बताए ।
त्यसैसरि निर्वाचन र आम मतदाताको मताधिकारका विषयमा द हिमालयन टाइम्स दैनिकका सम्पादक राजन पोख्रेलले अनुशिक्षण गरेका थिए भने पत्रकार कल्पना आचार्यले निर्वाचनमा लैगिंक, अल्पसङ्ख्यकहरूको सहभागिताका विषयमा जानकारी गराएकी हुन् । यस्तै उनले पत्रकारले निष्पक्षमा रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
मङ्गलवार धनगढीमा मिडिया एक्सन नेपालले सञ्चारकर्मीहरूसँग निर्वाचनको निष्पक्ष रिर्पोटिङ्गसम्बन्धी सुदूरपश्चिम प्रदेशस्तरीय मिडिया सचेतना कार्यशाला गोष्ठी गरेको हो । कार्यशाला गोष्ठीमा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

२५ असोज २०७९, मंगलवार २२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु