“अलबिदा” लेखेर सम्पर्क विहीन भए पत्रकार, खोजी कार्य जारी
सामाजिक सञ्जालमा “अलबिदा” लेख्दै उदयपुरका पुराना पत्रकार विदुर कटुवाल सम्पर्क विहीन भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफूले मृत्यु रोजेको भन्दै लामो स्ट्याटस लेखेर उनी सम्पर्क विहीन भएका हुन्।
श्रीमतीसँग छोड पत्रको सन्दर्भ उल्लेख गर्दै भावुक स्ट्याटस लेखेका कटुवालको त्यसपछि मोबाइल समेत अफ रहेको छ । ‘बाबाले मामुलाई डिभोर्स दिनु भयो भन्ने हल्ला तिमीले सुन्नु भन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठिक हुन्छ होला छोरा’ छोरालाई सम्बोधन गर्दै उनले लेखेका छन् ।
उनी सम्पर्क विहीन हुनुको कारण पारिवारिक लफडा भएको स्ट्याटसका जनाएका छन् । उनले स्ट्याटसमा,‘ डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन् ।
आज बिहान ९ बजेको समयमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय रिता,तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ । मर मर भन्थ्यौ । अब मर्छु । बाँच्दिन खुसी हुनु ।’
सामाजिक सञ्जालमा लेखेर बेपत्ता भएका पत्रकारको अहिले प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । पत्रकार महासंघले पनि यस विषयलाई गम्भीर रूपमा लिएर खोजी कार्यमा तीव्रता दिइरहेको जनाएको छ ।
‘सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि उहाँ सम्पर्कमा हुनुहुन्न। अहिले पनि खोजी कार्य जारी छ’ पत्रकार महासंघका महासचिव रोशन पुरीले भने ‘प्रहरीलाई हाइ अलर्ट रूपमा रहेर खोजी गर्न हामीले भनेका छौँ ।’
लामो समयदेखि क्रियाशील पत्रकारितामा रहेका उनी हाल नयाँ पत्रिका आबद्ध थिए । नयाँ पत्रिकाको उदयपुरबाट सम्वाददाता रहेका कटुवाल केही समय अघि काठमाडौँ आएका थिए । उनी काठमाडौँको बानेश्वर क्षेत्रबाटै सम्पर्क विहीन भएको जनाइएको छ ।
३ असोज २०७९, सोमवार २१:२२ बजे प्रकाशित












