नेपालले जित्यो केन्याविरुद्धको टी–२० क्रिकेट सिरिज

नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो ।

नैरोबीमा १७६ रनको उच्च स्कोर पछ्याउँदै ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन मात्रै बनाएपछि नेपालले सहज जित निकालेको हो । केन्याका लागि नेहेमिया ओडियाम्बोले ३७, शेम गोचेले अविजित ३३, इर्फान खानले २८ र कोलिन्स ओबुयाले २२ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र बासिर अहमदले समान २–२ विकेट लिए । त्यस्तै, करण केसी, दीपेन्द्रसिंह ऐरी र आदिल आलमले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो । नेपालले राम्रो सुरुवात गरेको थियो । ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रन बनाए । उनले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गर्दै ५९ रन बनाएका हुन् । रोहित कुमार पौडेलले ४७ रन बनाए । उनले आक्रमक खेल्दै २५ बलमा सात चौकाको मद्दतमा ४७ रन बनाए । अर्जुन साउदले २९, दीपेन्द्रसिंह ऐरीले २२, आदिल अन्सारी ४, करण केसी र विवेक यादवले समान २–२ रन बनाए ।

केन्याका लागि शेम गोचे, नेहेमिया ओदियाबो र विराट पटेलले समान २–२ विकेट लिए ।

पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा केन्यासँग नेपाल १८ रनले पराजित भयो । तेस्रो खेलमा नेपालले केन्यालाई चार विकेटले पराजित गरेको थियो । तर, चौथो खेलमा भने केन्यासँग नेपाल सात रनले पराजित भएको थियो ।

नेपालले अब तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिजमा नेपालले केन्यासँग पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्नेछ ।


१४ भदौ २०७९, मंगलवार २०:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु