सुदूरपश्चिममा औद्योगिक क्षेत्र निर्माणका लागि महासङ्घले सहयोग गर्छ : अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सुदूरपश्चिममा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारसमक्ष प्रस्ताव पेश गरेको बताएका छन् । सुदूरपश्चिमको मुहार फेरिनेमा आफू विश्वस्त रहेको बताउँदै उनले औद्योगिक क्षेत्र निर्माणका लागि महासङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनका क्रममा काठमाडौं पुगेको टोली समक्ष आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । सुदूरपश्चिमको विकासका लागि कैलाली उद्योग वाणिज्य सङ्घसंग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाई छ । उनले कैलालीको भवन निर्माणका लागि महासंघ सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष गोल्छाले उद्योगी व्यवसायहरूको समस्यालाई मध्येनजर गरेर महासंघले काम गरिरहेको दाबी गरे । साथै उनले उद्योग व्यवसायलाई बैंकले लगाएको चर्को व्याजको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताए ।
यस्तै उनले सीमानाका भैरहेको समस्या समाधानका लागि सरकारसंग समन्वय भैरहेको बताएका छन् ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य पुष्पराज कुँवरले बैंकले लिने चर्को व्याजका कारण उद्योग व्यवसाय सडकमा उत्रिन बाध्य हुनुपरेको बताए । उद्योग वाणिज्य संघले विभिन्न सामाजिक कायमा समेत काम गर्दै आएको उनले बताए ।
यस्तै उनले कैलाली उद्योग वाणिज्य सङ्घले प्रदेश सरकारको सहयोगमा बहुउद्देश्यीय भवन निमाण गरिरहेको बताए । २ करोडको लगानीमा कर्णाली पुलमा रात्रिकालीन लाइटको व्यवस्थासमेत गर्न लागिएको उनले बताए । कैलाली उद्योग वाणिज्य सङ्घको टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा छ ।
१३ भदौ २०७९, सोमवार ०७:३७ बजे प्रकाशित












