कैलालीका किसान भारतीय मलको भरमा

कैलालीको धनगढी उपमहानगरपालिका १८ का बाधुराम चौधरी एक बिगाहा जमिनमा मल छर्दै थिए । नेपालमा कतै पनि मल नपाएपछि भारतबाटै भए पनि ल्याएर उनले धान खेतमा मल छरेको हुन् ।

कैलालीका किसानले सहजै मल नपाएपछि उनीहरू भारतीय मलको भरमा खेती लगाउँदै आएका छन् । ‘नेपालमा सबैतिर खोजेँ मल पाएनँ त्यसैले भारतबाट मल ल्याएँ, यहाँबाट नदी तरेर भारतीय बजार बन्दरभरारीबाट मल ल्याउँछौँ,’ उनले भने । प्रहरीले बेला बखतमा रोक्ने गरेको भए पनि तर थोरै मल भएपछि छोडिदिने बाधुरामले बताए ।

‘धेरै ल्याउनेलाई गाह्रो हुन्छ, साइकलमा एकरदुई बोरा मल ल्यायो भने प्रहरीले पनि छोडिदिने गर्छन्,’ उनले भने, ‘यही मल पनि ल्याउन पाएनौँ भने त बर्खाभरिको मेहनत बगेर जान्छ ।’ कैलालीसँग सीमा जोडिएका नाकामा नेपाली किसानहरू भारतीय बजारबाटै मल ल्याउने गरेका छन् ।

सधैँ मलको अभाव झेलिरहेका यहाँका किसानहरू अहिले भारतीय मलको भरमा खेती गर्दै आएका छन् । नेपालमा १२ सय पर्ने एक कट्टा मललाई उता नेपाली एक हजार सयसम्म पर्ने गरेको छ ।

केही रुपैयाँ सस्तो मल पाइने भए पनि तर मोहन नदी तरेर मल ल्याउन उनीहरूलाई समस्या हुने गरेको । ‘धान खेतीलाई अहिले सुपर र युरिया मल चाहिन्छ । तर, यति बेला नै किसानलाई मल पाइँदैन,’ फूलबारी १८ कृष्णपुरका अर्का किसान टेक बहादुर चौधरीले भने, ‘यसपटक पनि मल नपाएपछि फेरि भारतबाटै मल ल्यायाँै ।’ २ बिगाहा जमिनमा धान रोपेका उनलाई सुपर र युरिया मल गरेर करिब १२ कट्टा मलको आवश्यकता थियो । तर बाध्यता उनले यता मल नपाएपछि भारतबाटै ल्याउनु रहेको हो ।

‘आफूखुसी मूल्य लिन्छन् भारतीय बजारमा पनि कहिले एक हजार त कहिले १२ सयसम्म तिर्नु पर्छ,’ केही सस्तोको भरमा नभएर नेपालमा मल पाउनै छोडेपछि उता जानुपरेको उनले बताए ।

खुल्ला सिमानाका कारण चन्दन चौकी, बन्दरभरारी, सुडा, बनगौवा, कजरीया, सेडाबेडा र बनकन्टी भारतीय बजारबाट किसानले रासायनिक मल ल्याएर खेतमा छर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।

‘कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजार चन्दन चौकीबाट मल ल्याएर धान खेतमा छरेँ,’ कैलारी गाउँपालिका ४ की बिनु चौधरीले भनिन्, ‘भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरे पनि ल्याउन बाध्य छौँ ।’

भारतीय बजारबाट डीएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ । धान पसाउने बेलामा युरिया मलको चरम अभाव भएपछि कैलालीका किसान अहिले समस्यामा परेका छन् । कहिले काँही एक बोरा युरिया मलका लागि एक हजार पाँच सयसम्म मूल्य तिर्नुपरेको छ ।

भारतमा प्रतिबोरा छ सय रुपैयाँ भारु पर्ने मलको यहाँ १२ देखि १५ सय पर्ने गरेको छ  । सरकारले किसानलाई मल उपलब्ध गराउन नसक्दा समस्या हुने गरेको उनीहरू बताउँछन् ।

‘मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता छ’, खुसीराम चौधरीले भने, ‘मल नहाले उत्पादन घट्ने भएकाले समस्या भएर पनि भारतबाट किनेर ल्याएको छु ।’ धेरै मल ल्याएपछि पनि भारतीय बजारबाट तस्करी गरेर ल्याएको मल भनेर प्रहरीले नियन्त्रणमा लिने गरेको छ । तर, थोरै मल भएपछि ल्याउन पाइने किसान बताउँछन् ।

‘भारतीय बजारबाट आफूलाई चाहिएको जति मल एकै पटक ल्याउन पाइँदैन’, उनले भने, ‘नेपालमा मल पाइँदैन, समस्या नै छ किसानलाई ।’

अनुदानको मल खाद सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मल खाद सहज आपूर्ति नहुँदा यहाँका अधिकांश किसान भारतीय मल मलमाथि नै निर्भर रहेका छन् । कृषि सामाग्री केन्द्र कैलालीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल उपलब्ध गराउनुपर्ने भए पनि यहाँ सधैँ मलको अभाव हुने गरेको छ । कैलालीका किसानले हिउँद र बर्खामा मलको समस्या झेल्दै आएका छन् ।

कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करिब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ ।


१२ भदौ २०७९, आइतवार २२:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु