सवारी दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु
चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।
यस्तै पूर्वी चितवनको रत्ननगरमा बोलेरो जिपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने जिपको पहिचान खुल्न सकेको छैन ।
३ भदौ २०७९, शुक्रवार ११:२० बजे प्रकाशित












