सुदूरपश्चिमका सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड राखिने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड राख्ने भएको छ ।भएको छ । सुर्ती तथा मदिराजन्य पदार्थको सेवनमा कमी ल्याउन प्रदेश सरकारले सार्वजनिक स्थलहरुमा सो बोर्ड राख्ने भएको हो ।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धक केन्द्र कञ्चनपुरले धनगढीमा बुधबार आयोजना गरेको एक समारोहका बीच प्रदेशका सामाजिक राज्यमन्त्री टेकबहादुर रैकाले सो बोर्डको विमोचन गरेका हुन् । केन्द्रका प्रमुख हेमराज खडकाले सो बोर्डहरु सामुदायिक तथा नीजि विद्यालय, सरकारी कार्यालय लगायत सार्वजनिक स्थानमा राखिने बताए ।
सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री रैकाले समाजमा विद्यमान रहेका विकृति, विसंगति न्यूनीकरणको लागि लागूऔषध प्रयोग रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताए । सूर्ती तथा मदिराजन्य पदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा राज्यमन्त्री रैकाले सूर्ती तथा मदिरालगायत लागू पदार्थ समाजमा नकारात्मक प्रभाव पारिरहेको बताए ।
उनले लागू पदार्थ नियन्त्रणको लागि सुरुमा परिवारका सदस्यहरुबाटै सुधार हुन आवश्यक रहेको बताए । उनले विद्यालयलगायतको सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य विक्री वितरणको लागि कुनै पनि पसल सञ्चालन रहेको पाइएमा नियन्त्रणका लागि प्रशासनले तुरुन्तै ‘एक्सन’ लग्ने प्रतिवद्धता व्यक्त गरे ।
८ असार २०७९, बुधवार २२:३८ बजे प्रकाशित












