अछामका विनोदको हत्याआरोपी मेयरसहित १० जना फरार सूचीमा
अछामको पञ्चदेवल नगरपालिका-४ कालिकास्थानका १५ वर्षीय युवक विनोद शाहीको हत्या भएको २१ दिन पुग्दा राजनीतिक दबाबमा घटनाको अनुसन्धान प्रभावित बनेको छ ।
विनोदको हत्या गरेको अभियोगमा आफन्तले १५ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले ५ जना मात्र पक्राउ गरेको छ । पञ्चदेवल नगरपालिका मेयर अम्विका चलाउने, जिसस अछामकी उपप्रमुख दानमती वम शाही र निवर्तमान वडाअध्यक्ष सज्जनबहादुर शाहीलाई हत्याको मुख्य दोषी देखाउँदै आफन्तले तत्कालै जाहेरी दिएकोमा प्रहरीले सुरूमा जाहेरी लिएको थिएन ।
जाहेरी दर्ता गरेपछि मात्रै पीडित परिवारले ६ दिनपछि शव बुझेका थिए । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले हालसम्म पाँचजना मात्रै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र बाँकी १० जना फरार भएको दाबी गरे । ‘
पक्राउ परेका ५ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । तर, स्थानीयहरूले भने प्रहरी र प्रशासान नै हत्याराहरूको संरक्षणमा लागि रहेको गुनासो गरेका छन् ।
७ असार २०७९, मंगलवार १३:१४ बजे प्रकाशित












