एसियाकप छनोट : इन्डोनेसियाविरुद्ध नेपाल ७-० ले पराजित

दस खेलाडीमा सीमित नेपाल एसियाकप छनोट तेस्रो चरणको आफ्नो अन्तिम खेलमा मंगलबार इन्डोनेसियाबाट ७–० को ठूलो अन्तरले पराजित भएको छ । सम्भवतस् नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अन्तिम खेल बिर्सनलायक रह्यो । हारपछि चार टिम सम्मलित समूह ‘ए’ मा नेपाल अन्तिम स्थानमा रह्यो ।

यस समूहबाट समूह विजेताका रूपमा जोर्डन र उत्कृष्ट दोस्रो स्थानमा रहेर इन्डोनेसिया एसियाकपका लागि छनोट भएको छ । इन्डोनेसियालाई आफ्नो दोस्रो स्थान बलियो बनाउन नेपालविरुद्ध प्रभावशाली जित आवश्यक थियो । यस अगाडि नेपाल जोर्डन र कुवेतविरुद्ध पनि पराजित रहेको थियो ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले ३३ औं मिनेटमा दोहोरो पहेँलो कार्डमा सुमन अर्याललाई गुमाएको थियो । इन्डोनेसियाका लागि वितान सुलेमनले दुई गोल गरे भने मोहम्मद दिमास, आर्यन्टो, साददिल रामदानी, एक्लन बागोट र मार्सेलिना फर्डिनान्डले एक एक गोल गरे ।

यसै खेलबाट नेपालले एक नयाँ कप्तान पाएका छन् भने दुई थप खेलाडीले डेब्युको अवसर पनि पाए । पुजन उपरकोटीले टिमको कप्तानी गरेका थिए भने शिव गुरुङ र नीरकुमार राईले पहिलो पल्ट खेल्ने अवसर पाए । यससँगै पुजन नेपाली राष्ट्रिय टिमको कप्तान हुने २१ औं खेलाडी पनि भएका छन् ।मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक संजालबाट आफू राष्ट्रिय टिमको प्रदर्शनबाट आशावादी रहेको बताएका छन् । मुख्य खेलाडी र प्रशिक्षकबीचको विवादपछि उनले दोस्रो रोजाईका खेलाडीले भरिएको टिम कुवेत लगेका थिए । यही विवादलाई लिएर गठित छानविन आयोगले उनलाई बिदा गर्ने सिफारिस गरेको छ ।

तर उनले सेप्टेम्बरमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आफ्नो नजर रहेको बताएर मुख्य प्रशिक्षकको कायम रहने संकेत गरेका छन् । उनको अनुबन्ध भने सन् २०२३ सम्म कायम छ ।


१ असार २०७९, बुधवार ०८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु