“मिथ्या सूचना तथा समाचार लोकतान्त्रिक पद्धतिका लागि घातक”
सामाजिक सञ्जाल, अनलाइन सहित मिडियामा आउने मिथ्या सूचना तथा समाचारले लोकतान्त्रिक पद्धति तथा समाजलाई प्रदुषित गरिरहेको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
समाजका विभिन्न पक्षका प्रतिनिधिहरुले सामाजिक सञ्जाल तथा मुलधारको मिडियाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने पनि औल्याए ।
“सामाजिक सञ्जाल, युट्यवहरुमा मनपरी ढङ्गले प्रवाह गरिने मिथ्या, भ्रामक र अतिरंजित सूचना वा समाचारका कारण मुलधारको मिडियामाथि पनि औंला उठ्ने गरेको छ” मङ्गलबार सेन्टर फर मिडिया रिसर्च (सिएमआर) ले धनगढीमा आयोजना गरेको मिथ्या सूचनाले लोकतन्त्रमा पार्ने प्रभाव” विषयको छलफलका सहभागीहरुले भने– यसले समाजलाई विभाजित र विकृत बनाउँदै गएको छ ।
सहभागीहरुले मिथ्या, भ्रामक तथा अतिरंजित सूचना वा समाचार कहाँ र कसरी उत्पादन भइरहेका छन् रु भन्ने बारे गहन अध्ययन हुनुपर्ने बताए । कार्यक्रममा मिथ्या सूचनाबारेको अनुसन्धानको सार प्रस्तुत गर्दै सिएमआरका उमेश श्रेष्ठले भने– सूचना मिथ्या नहुनका लागि तथ्य, तथ्याङ्क, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्विर, समय र सन्दर्भ सही, पूर्ण तथा तर्कसङ्गत हुनु अनिवार्य हुन्छ ।
उनले भने– त्यस्ता सूचना वा समाचार मिथ्या हुने सम्भावना अधिक हुन्छ, जसले मानिसको भावनालाई धेरै असर गर्छ । छलफलका क्रममा प्रदेश सभा सदस्य पूर्णा जोशीले समाजमा नकारात्मक प्रभाव पार्ने खालका गलत, अपूर्ण र भ्रामक सूचना, समाचार प्रवाहलाई निरुत्साहित पार्नेतर्फ सबै गम्भीर हुन जरुरी रहेको चर्चा गरिन् । उनले भनिन्– पानी प्यास लाग्यो भन्दैमा फोहोर नालीको पानी त पिउन सकिदैन नि ।
प्रदेश सभा सदस्य भरतबहादुर खड्काले नागरिक नै लोकतन्त्रको पहरेदार भएकोले चर्चा गर्दै मिडियाको रुपान्तरण पनि जरुरी भइसकेको बताए ।
मिथ्या सूचना, समाचार र यसका प्रभावबारे छलफल गर्दै सिएमआरका तिलक पाठकले “अनुसन्धानहरुले अहिले पनि नेपालमा मिडिया नै सबैभन्दा विश्वसनीय संस्थाका रुपमा रहेको देखाएको” बताए ।
नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले आम नागरिकको सचेतना अभिवृद्धि भन्दा पनि मिथ्या सूचना र समाचार उत्पादन तथा प्रवाहकर्तालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले सामाजिक सञ्जाल तथा युट्यवहरुमा प्रवाह हुने मिथ्या तथा भ्रामक सूचना र समाचारहरु बन डढेलो भन्दा पनि भयावह रहेको चर्चा गरिन् ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल, प्रदेश सभा सदस्य महेशदत्त जोशी, प्रादेशिक निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्ट, पत्रकारहरु चित्राङ्ग थापा, मनमोहन स्वार, दिलबहादुर छत्याल, भरत शाह र गोविन्द रोस्यारा, शिक्षक प्रेमराज भट्ट, सीताराम भट्ट लगायतले मिथ्या समाचारले लोकतान्त्रिक पद्धति तथा समाजमा पारेको प्रभावबारे धारणा व्यक्त गरेका थिए ।
३१ जेठ २०७९, मंगलवार १९:०९ बजे प्रकाशित












