गेटा मेडिकल कलेज सञ्चालनकाे माग गर्दै निःशुल्क स्वास्थ्य शिविर

गेटा मेडिकल कलेजलाई यथाशिघ्र सञ्चालन गर्नुपर्ने भन्दै निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । पदमा, माया मेट्रो, सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल, गोदावरी पोलिक्लिनिक लगायत संस्थाको सहयोगमा गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिले विश्वविद्यालयको गेटमा मंगलबार सो शिविर गरेको हो ।

संघर्ष समितिका संयोजक लोक राज पाण्डेय (आगो) ले सरकारले यहि आर्थिक वर्षमा गेटा मेडिकल विश्वविद्यालयलाई सञ्चालन ल्याउने भनेको भएपनि पहल नभएको बताए । उनले भने,‘सरकारले मेडिकल विश्वविद्यालय ल्याउन पहल नगरेका कारण हामीले नीजि क्षेत्रको सहायतामा दबाब स्वरुप मेडिकल विश्वविद्यालयमा स्वास्थ्य शिविर गरेका हौं ।’ उनले मेडिकल विश्वविद्यालयमा पोशाकसहितका विद्यार्थी र शिक्षक नआएसम्म विभिन्न आन्दोलनका कार्यक्रम अघि बढाई रहने बताए ।

उनले मेडिकल विश्वविद्यालयलाई सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत नराख्न पनि माग गरे । उनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई थप ध्यानाकर्षण गराउने बताए । असार ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी आउने कार्यक्रम रहेकोले सोही दिन ज्ञापनपत्र बुझाउने उनले बताए । निर्माणाधिन गेटा मेडिकल कलेजका भौतिक संरचना तयार भइसकेका छन ।

सरकारले यसलाई सञ्चालनमा ल्याउन भने ध्यान दिन नसकेको भन्दै विभिन्न चरणमा संघर्षका कार्यक्रम जारी रहेको छ । यसअघि हस्ताक्षर अभियानसँगै राजमार्ग अवरुद्ध, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र लगायतका संघर्षका कार्यक्रम गरिएको थियो ।

 


३१ जेठ २०७९, मंगलवार १६:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु