बूढीगंगा जलविद्युत् निर्माणमा अलग्गै परामर्शदाता, ठेक्का चिनियाँ कम्पनीलाई
बूढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि अलग्गै परामर्शदाता राख्ने भएको छ। यो आयोजना निर्माणमा परामर्शदाता भन्दै चिनियाँ कम्पनी जिओडाटा इञ्जिनियरिङ एसपीए चाइना वाटर रिसोर्स बिफाङ इन्भेष्टिगेसन, डिजाइन एन्ड रिसर्च कम्पनी र एकआईडीईएफ कन्सल्ट्यान्स प्रालीलाई यो ठेक्का दिएको हो। १५ करोडमा यो ठेक्का लागेको हो। यस्तो परामर्शदाताले सहायकको रुपमा काम गर्छन्।
अछाममा निर्माण हुने २० मेगावाटको बूढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको डीपीआर तयार भइसकेको छ। आयोजनाको मुल्यांकन गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने बेलामा लगानीकर्ता साउदी अरबले आफू अनुकुल नभएको भन्दै निर्माण प्रक्रियाको प्रस्ताव अस्वीकार गरेको थियो।
करिब ८ महिना लगाएर तयार गरेको ठेक्का प्रक्रिया रद्द भएपछि पुनः मूल्यांकनको काम सुरु भएको थियो। तर आयोजनाले प्राविधिक कारण मात्रै देखाएको थियो। अब निर्माण व्ययसायी छनोट गर्ने र अन्तिममा छनोट भएका व्यवसायीसँग वित्तीय प्रस्ताव माग गरेपछि मात्रै ठेक्का प्रक्रियामा जाने आयोजनाले जनाएको छ।
खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा आयोजनाको काम सुरु हुने भएकाले आयोजनाका लागि सुरु हुने ठेक्का र अन्य प्रक्रिया साउदी अरबले स्वीकार गरेपछि मात्रै आयोजनाले काम गर्न पाउने बाध्यात्मक अवस्था छ।
आयोजनाको निर्माण विकासका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँको ऋण सम्झौता भइसकेको छ। २०७२ असार १४ गते सम्झौता भई ०७३ पुसमा डीपीआर तयार पार्ने जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्राइभेट लिमिटेड र नेपालको कम्पनी उदय कन्सल्टेन्सीले १ वर्षअघि मात्रै डीपीआर तयार पारेको हो। डीपीआर तयार पार्न करिब १९ करोड ९१ लाख ३३ हजार नेपाली रुपैयाँ लागत छ।
सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ देखि नै अध्ययन सुरु भएको थियो। सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर छ।
बूढीगंगा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुरसम्म पुर्याएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ।
३१ जेठ २०७९, मंगलवार १७:१५ बजे प्रकाशित












