एसियन कप छनोट : नेपालले आज इन्डोनेसियाको सामना गर्दै

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज इन्डोनेसियाको सामना गर्दैछ । नेपालले समूह ‘ए’ अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्न लागेको हो ।

नेपाल–इन्डोनेसियाबचिको खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । एसियन कप छनोटबाट बाहिरिसकेको नेपाल आज इन्डोनसियालाई हराउँदै जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

नेपाल यसअघि जोर्डनसँग २–० र कुवेतसँग ४–१ ले पराजित भएको थियो । इन्डोनेसिया पनि नेपालमाथि जित निकाल्दै एसियन कपमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्यमा छ ।

यसअघि कुवेतलाई २–१ ले पराजित गरेको इन्डोनेसियाले जोर्डनसँग १–० को हार बेहोरेको थियो । इन्डोनेसियासँग नेपालले हालसम्म एक मात्र म्याच खेलेको छ । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाविरुद्ध नेपाल २–० ले पराजित भएको थियो ।

जारी प्रतियोगितामा अंकविहीन नेपाल पुछारमा छ । इन्डोनसिया समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ ।


३१ जेठ २०७९, मंगलवार ०८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु