गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै देउवालाई ज्ञापन पत्र
कैलालीको प्रस्तावित गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिमका मन्त्री, सांसद तथा सरोकारवालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले ज्ञापन पत्रमा प्रस्तावित मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउनुपर्ने सात बुँदे आधार पनि प्रस्तुत गरेका छन् ।
यसरी ज्ञापन बुझाउनेमा बहालवाला मन्त्री प्रेमबहादुर आले, दीलेन्द्रप्रसाद बडूसहित प्रतिनिधिसभा र राष्ट्रियसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरू छन् । यस्तै स्वास्थ्य क्षेत्रका विज्ञ तथा अभियन्ता पनि छन् ।
उनीहरूले बुझाएको ज्ञापनपत्रमा प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अघि बढाउँदा सुदूरपश्चिम मात्रै नभएर समग्र नेपालमै स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, सन्धान, अनुसन्धान गर्नेदेखि लिएर अध्ययनका लागि पनि आफ्नै क्षेत्रमा वातावरण बन्ने उल्लेख छ ।
यस्तै बर्सेनि मेडिकल शिक्षाका नाममा बाहिर गइरहेको कराडौँ रुपैयाँ रोकिने पनि उनीहरूको दाबी छ । विश्वविद्यालय स्थापना भएमा देशभित्र र देश बाहिरबाट पनि ठूलो मात्रामा जनशक्ति फर्केर आउने दाबी पनि उनीहरूले गरेका छन् ।
३० जेठ २०७९, सोमवार १२:१२ बजे प्रकाशित












