अव पार्टीका एजेन्डा होइन, जनताका एजेन्डा कार्यान्वयन हुन्छन् : मेयर हमाल
सुदूरपश्चिमको एक मात्रै उपमहानगर धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गरेका हुन् ।
चुनाव जितेपछि पहिलो प्रतिक्रिया दिँदै नवनिर्वाचित मेयर हमालले अधुरा योजनाहरू समयसीमा भित्रै सम्पन्न गर्ने बताएका छन् । ‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजनाहरू छन् ती योजनाहरू समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौं,’ उनले भने ।
‘अघिल्लो पटकको निर्वाचनमा पराजित भइसकेपछि हामीले नगरवासीसँगको सम्बन्धलाई अझ मजबुद बनाउँदै गइरहेका थियौँ । गाउँ-गाउँसम्म जाने र अवस्था बुझ्ने काम भइरहेको थियो ।, त्यसक्रममा जनताले मलाई नगरप्रमुखमा हेर्न चाहिरहेको भान हामीले पाइसकेका थियौँ । सोहीअनुसार सल्लाह सुझावहरू पनि प्राप्त भइरहेका थिए’, उनले भने ।
‘जनताले जुन विश्वास गरेर मत दिएका छन् त्यसलाई जुन दिन मैले पूरा गर्छु त्यस दिन नै आफुले जितेको सार्थकता हुन्छ,’ हमालले भने, ‘यो मेरो मात्रै जित होइन धनगढीबासीको जित हो ।’
अव धनगढी व्यक्तिगत, पार्टीगत रुपमा नभएर सम्रग धनगढीबासीको आधारमा चल्ने उनले बताएका छन् । ‘हिजोका दिनमा जुन पार्टीले जित्यो त्यही पार्टीका एजेन्डा प्राथमिकतामा रहे पनि अव भने धनगढीबासीका एजेन्डाहरू प्राथमितकतामा रहन्छन्’, उनले भने ।
उनले धनगढीलाई बनाउनकै लागि आफू मेयरको उम्मेदवार बनेको र जनताले विश्वास पनि गरेको भन्दै निःस्वार्थ भावनाले धनगढीलाई बनाउने बताए । हमालले भने, ‘मैले परिकल्पना गरेको भनेको नै नमुना धनगढी हो । धनगढी एक व्यवस्थित शहरका रूपमा अगाडि बढ्ने छ । शहरीकरणको विकाससँगै पर्यावरण संरक्षणमा ध्यान दिनेछौँ ।’
हमालले नृप बहादुर वडलाई झन्डै दोब्बर मतले हराएका हुन् । गठबन्धन भएपनि जनताले अहिले बिकास चाहेकै आफु निर्वाचीत भएको उनले बताए । हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा वडले १४ हजार ८१७ मत पाएका हुन् । धनगढीमा जम्मा ६३ हजार ६४३ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा हमाल वडसंग करिव २७ सय मतले हारेका थिए ।
८ जेठ २०७९, आइतवार १५:३५ बजे प्रकाशित































