सेतीमा बेड नभएपछि कोरोना संक्रमित भर्ना गरिएन
धनगढी,जेठ २१ । कैलालीको गौरिगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई मन्दिरको हलमा राखिएको छ ।सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पतालमा वेड अभाव भएपछि पाँच जनालाई मन्दिरको हलमा राखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुदूरपश्चिममा थप २७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको थियो । जसमध्ये कैलालीका १०, कञ्चनपुरका आठ र अछामका नौ जना रहेका छन ।
कैलालीको टीकापुरमा चार, गौरिगंगा नगरपालिकाका पाँच र धनगढी उपमहानगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो । टीकापुरमा थपिएका चार जनालाई टीकापुर अस्पतालको आइसोलेसन र धनगढी ३ का ३७ वर्षिय युवाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ भने गौरिगंगा नगरपालिकाका कोरोना संक्रमितलाई भने मन्दिरको हलमा राखिएको जनाइएको छ ।
गौरीगंगा नगरपालिका प्रमुख भीमवहादुर देउवाले कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई सेती प्रादेशिक अस्पतालले वेड अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएको बताए ।
उनले भने, ‘पाँच नयाँ संक्रमित मध्ये दुईजनाको स्वास्थ्यमा समस्या देखिएको छ, ज्वरो आउने, खोकी लाग्ने र वान्ता समेत भइरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ । तर कसैलाई पनि भर्ना गरेनन् ।’
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले २५ जना उपचाररत छन । अस्पतालमा २४ वेडको आइसोलेसन राखिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले २४ शैयाको आइसोलेशनमा २५ जना संक्रमितलाई राखिएको बताए ।उनले भने –‘थप संक्रमितको तत्काल व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’
सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ ।
२१ जेठ २०७७, बुधवार ०७:३३ बजे प्रकाशित












