प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थल उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन्। देउवाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालको उड्डयन क्षेत्र र आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पार्ने बताएका छन्।
हाल एउटा मात्रै विमान कम्पनीलाई प्रधानमन्त्री देउवाले विदेशी वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्न आह्वान गरेका छन्। उनले विमानस्थल निर्माणका लागि सहयोग गर्ने दातृ निकाय एडीबीलगायतलाई धन्यवाद दिएका छन्।
गौतमबुद्ध विमानस्थलमा पहिलोपटक जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान गरेको छ। जजिराले भैरहवा–कुवेत हप्ताको ३ उडान गर्ने भएको छ। जजिरा सोमबार बिहान ७ः१० मा भैरहवामा अवतरण गरेको हो।
यसअघि आजै बिहान ६ः५५ मा नेपाल एयरलाइन्स को एयरबस ३२० जहाज अवतरण गरेको थियो।भारतले भैरहवाका लागि सिधा हवाई मार्ग नदिँदा काठमाडौंकै लागि प्रयोग भइरहेको मार्गबाट जहाज विमानस्थल पुगेको छ। सिमरा नजिकैबाट जहाज भैरहवा पुग्दा धेरै घुम्नुपरेको छ।
‘गौतमबुद्ध विमानस्थलमा सहज हवाई प्रवेशका लागि भारतसँग छलफल चलिरहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘लुम्बिनीका पर्यटकीय पूर्वधार विकास गर्न यसले प्रोत्साहन गर्छ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल सञ्चालनले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले त्रिभुवन विमानस्थलसँगै भैरहवा विमानस्थल २४सै घण्टा चल्ने वातावरण बनाएको बताए।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको भूमिमा ७४ वर्षपछि सञ्चालन गरिएको बताए। ‘नेपालको एउटा मात्रै विमानस्थल छ भन्ने हीनताबोध आजका दिनदेखि सकिएको छ,’ महानिर्देशक अधिकारीले भने, ‘काठमाडौंमा अवतरण गर्न नसक्दा भारत, बंगलादेश जानुपर्ने बाध्यता छ।’
भैरहवा विमानस्थल निर्माणले नेपालको क्षमतामा विश्वास दिलाएको उनले बताए। नेपालको नागरिक उड्डयन क्षेत्रमा नेपालका लागि ऐतिहासिक फड्को भएको अधिकारीको भनाइ छ। अबको २० वर्षमा हवाई यात्रुको संख्या ३ करोड पुग्ने बताउँदै काठमाडौं, भैरहवा र पोखरा विमानस्थलले धान्न नसक्ने दाबी गरे।
‘निजगढ विमानस्थलको विकल्प निजगढ नै हो,’ उनले भने, ‘अबको १० वर्षमा निजगढमा विमानस्थल बनिसक्नुपर्छ नभए अहिलेका विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु थेग्न सक्दैन।’ अधिकारीले नेपालको हवाई क्षेत्र विश्वको औसतभन्दा माथि रहेको बताए। हालै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको अडिटमा आकाश सुरक्षित रहेको बताए।
सन् २०१४ मा सुरु भएको ३ हजार मिटर लम्बाइको धावन मार्ग निर्माण भएको थियो। २०१७ मा सकिनु पर्ने आयोजना सकिएको छ। आयोजनाको कूल लागत १० अर्ब रुपैयाँ छ। २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको उद्घाटन गरेका थिए।
२ जेठ २०७९, सोमवार १०:१७ बजे प्रकाशित












