लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९१.७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोद्वारा जारी सूचनामा उल्लेख छ ।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन् । यस्तै नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ ।

त्यस्तै मोरङको बेलबारीकी ३१ वर्षीय कविता गुरुङ र काभ्रेपलान्चोकका ३३ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन् । गुरुङलाई लागुऔषध उपलव्ध गराउने सुनसरीका २२ वर्षीय मिथुनकुमार याद र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ ।

यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौंबाट पक्राउ गरिएको छ । पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


३ चैत २०७८, बिहीवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु