माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २८ र २९ गते
सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी माघ २८ र २९ गते काठमाडौंमा बस्ने भएको छ।
पुस ११ देखि १८ सम्म काठमाडौंमा आठौँ महाधिवेशन गरेको माओवादीले महासचिवसहितका पदाधिकारी चयन गर्न नसकेको अवस्थामा केन्द्रीय समिति बैठक बस्न लागेको हो।
यसअघि गत पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक नेता वर्षमान पुन चीनबाट नआइपुगेको भन्दै स्थगित गरिएको छ।
नेता पुन चीनबाट आइसकेकाले माओवादीले अब माघ २८ र २९ गते प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक राखेर महासचिवसहितका पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको पनि टुंगो गरिने भएको छ।
यो बैठकमा अहिले चर्किरहेको एमसीसी विवाद, स्थानीय तह निर्वाचन र अन्य राजनीतिक विषयमा छलफल हुने छ।
आठौं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डले निरन्तरता पाएका छन्। तर महासचिवसहितका पदाधिकारी नचुनिँदा पार्टी अघि बढाउन समस्या भइरहेको चर्चाबीच केन्द्रीय समिति बस्ने भएको हो।
२४ माघ २०७८, सोमवार १५:२३ बजे प्रकाशित













