स्वास्थ्यकर्मी नै संक्रमित, सेवा बन्द
बैतडीका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य केन्द्रले ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए। उनले भने, ‘एन्टिजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा बन्द गरेका हौं।’
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सुरक्षित प्रसूति सेवा र आकस्मिक बाहेकका अरू सेवा बन्द गरिएका केन्द्रले जनाएको छ। कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ।
बैतडीमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसीरहेकाले समुदायमै कोरोना फैलिसकेको छ। तर स्थानीय तहहरुले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ। भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना संक्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ।
१० माघ २०७८, सोमवार १४:१२ बजे प्रकाशित













