एमालेको वक्तव्य : भारतद्वारा संरचना निर्माण रोकिनुपर्छ
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भारतीय पक्षबाट नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमतिविपरीत भारतीय पक्षबाट संरचना निर्माण भइरहेको एमालेले बताएको छ।
एमालेका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा ९एमाले०को अविचलित मान्यता छ।’
त्यस्तै, राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको मौनताले अनेकौँ प्रश्न जन्माएको विज्ञप्तिमा उल्लेख छ। यस विषयमा भारतसँग अविलम्ब संवाद गर्न, सबैखाले बलमिँच्याई रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न एमालेले सरकारसँग माग गरेको छ।

२७ पुस २०७८, मंगलवार १७:४१ बजे प्रकाशित












