राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् ।
बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहेपनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् ।
महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए । उनले सभापति देउवाले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने भनेर यसअघि बोलेका कुरा पालना नगरेको बताए ।
पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए । आफूले सभापति शेरबहादुर देउवालाई यो कुरा सम्झाए पनि बेवास्ता गरेको उनले बताए ।
थापाले शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी नचल्ने पनि बताए । ‘महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्नु देउवाको दम्भ भएको उनको भनाइ छ ।
२१ पुस २०७८, बुधवार १८:४५ बजे प्रकाशित













