देशभर कोरोनाका सक्रिय संक्रमितकाे संख्या ५ हजार २२५, परीक्षण बढाउन जाेड
नेपालमा बुधबारसम्म कोरोना संक्रमितका ५ हजार २२५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा ३७० जनामा कोरोना संक्रमण देखिएको छ । २४ घण्टामा १० हजार २६७ जनाको कुल परीक्षणमा ६ हजार ७१५ जनाको पीसीआर र ३ हजार ५५२ जनामा एन्टिजेन परीक्षण गरिएको छ । एन्टिजेन परीक्षणमा ६५ जनामा संक्रमण देखिएको छ ।
२४ घण्टामा मृत्युको संख्या भने शून्य रहेको छ भने २३९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा २५३ जना सक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा १८,ललितपुरमा २६ र काठमाडौँमा २०९ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबार कोरोना प्रेस ब्रिफिङमा हाल नेपालमा कोरोना संक्रमणको दर संक्रमण दर ३.८ प्रतिशत रहेको र पछिल्लो हप्ताभन्दा ०.९ प्रतिशतले बढेको बताइन् ।
होम आइसोलेसनमा ४ हजार ८५२ जना रहेका छन् भने संस्थागत होम आइसोलेसनमा ३७३ जना रहेका छन् र १४ जना आइसियूमा उपचाररत छन् । प्रदेशमा परीक्षणहरु कम भइरहेको र यसलाई बढाउनुपर्ने डा. मिश्राले बताइन् ।
२१ पुस २०७८, बुधवार १८:२५ बजे प्रकाशित













