कोरोनाविरुद्धको खोप अभियान : सुदूरपश्चिम राष्ट्रिय लक्ष्य छुन असफल

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशले राष्ट्रिय लक्ष्य छुन असफल भएको छ । सरकारले यही पुस मसान्तसम्म १८ वर्ष भन्दा माथि उमेर समूहका ६६ प्रतिशत नागरिकलाई खोप लगाइसक्नुपर्ने लक्ष्य सुदूरपश्चिम प्रदेश सरकारले छुन नसकेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले पुस मसान्त अर्थात एक वर्षको अवधिमा प्रदेशका जम्मा दुबै डोज खोप लगायनेको संख्या ४६ प्रतिशत मात्रै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा। अनुज भट्टचनले सुदूरपश्चिममा दुबै डोज खोप लगाउनेको संख्या ४६ प्रतिशत मात्रै रहेको बताए । उनका अनुसार पहिलो डोज खोप लगाउनेको संख्या ६० प्रतिशत छ ।
सुदूरपश्चिममा १८ वर्ष भन्दा माथिको कुल जनसंख्या १२ लाख ८५ हजार ९३६ मध्ये पहिलो डोज खोप ११ लाख ७५ हजार ९४७ जनाले लगाएका छन् । दुबै डोज खोप अर्थात पूर्ण खोप लगाउनेको संख्या ८ लाख ८६ हजार ९१२ छ । प्रदेशमा दुई जिल्लाले भने राष्ट्रिय लक्ष्य पूरा गरेका छन् ।

प्रदेशका ९ जिल्लामध्ये बाजुरा र दार्चुलाले राष्ट्रिय लक्ष्य अनुसार जनतालाई कोरोनाविरुद्धको खोप लगाएका हुन् । सबैभन्दा बढी बाजुराले ७० प्रतिशत अर्थात ७२ हजार २९२ जनालाई पूर्ण खोप लगाएको छ । यहाँ पहिलो डोज खोप लगाउनेको संख्या भने ९२ प्रतिशत अर्थात ९५ हजार ३२० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक भट्टचनले बताए । उनका अनुसार दार्चुलामा ६७ प्रतिशत अर्थात ६४ हजार ४०७ जनालले पूर्ण खोप लगाएका छन् । यहाँ पहिलो डोज खोप लगाउनको संख्या ७२ प्रतिशत अर्थाात ६८ हजार २२७ छ ।

प्रदेशका अन्य सात जिल्ला भने राष्ट्रिय लक्ष्य चुम्न असफल भएका छन् । केही जिल्ला लक्ष्यको आधा प्रतिशतमै सीमित बन्न पुगेको छ । पूण खोप सबैभन्दा कम अछाममा ३४ प्रतिशत मात्रै लगाइएको छ । त्यसपछि डडेल्धुरामा ३६, बझाङमा ३६, डोटीमा ३८, कञ्चनपुरमा ३९, बैतडीमा ४८ र कैलालीमा ५० नागरिकले दोस्रो खोप अर्थात पूर्ण खोप लगाएका छन् ।

प्रदेशमा गाउँपालिका स्तरमा हेर्दा कुनै गाउँपालिकाको प्रगति ३० प्रतिशत भन्दा पनि कम देखिएको छ । प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा कम कैलालीको मोहन्याल गाउँपालिकामा २० प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । त्यस्तै, जोशीपुर गाउँपालिकामा २६ प्रतिशत, बैतडीको सिगास गाउँपालिकामा २२ प्रतिशत र पुर्चौडी गाउँपालिकामा २८ प्रतिशत, डडेल्धुराको पर्शुराम गाउँपालिकामा २३ प्रतिशत, आलिताल गाउँपालिकामा २४ र भागेश्वर गाउँपालिकामा २७ प्रतिशत जनताले कोरोनाको पूर्ण खोप लगाएका छन् ।

त्यसैगरी,  बझाङको केदारसुइन गाउँपालिकामा २२ प्रतिशत, अछामको चौरपार्टी गाउँपालिकामा ३० प्रतिशत र मेल्लेख गाउँपालिकामा २८ प्रतिशत, डोटीको पुर्चौडी गाउँपालिकामा २१, सयाल गाउँपालिकामा २८ र बोगटान गाउँपालिमा ३० प्रतिशत जनताले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।

जिल्लामा प्रयाप्त खोप उपलब्ध हुँदा पनि उपभोग हुन नसक्दा तोकिएको लक्ष्य प्राप्तीमा चुनौती थपिएको डा. भट्टचनले बताए । उनले सुरुवातमा खोप अभियान तीब्र गतिमा सञ्चानल हुन नसक्नु र जनतालाई खोपको महत्व बुझाउन नसक्नु पनि लक्ष्य प्राप्त गर्न नसक्नुको प्रमुख कारण रहेको बताए । प्रदेशस्तरमा जिल्लामा बजेट निकास हुन ढिलाई हुन, ज्याक्सन खोपको तीब्र रुपमा उपभोग गर्र्न नसकिएको र खोप केन्द्रको संख्या विस्तार गर्न पनि नसकिएको डा। भट्टचनले बताए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भौगोलिक विकटता, खोपप्रति विश्वास नहुनु, प्रदेशबाट केही व्यक्तिहरु भारत जाने गरेका कारण सुदूरपश्चिममा खोपको राष्ट्रिय लक्ष्य प्राप्त हुन नसकेको बताए । उनले खोप बढाउन सीमा क्षेत्रमा जोनसोन खोप दिनुपर्ने, खोप केन्द्र विस्तार गर्नुपर्नेलगायतका कामहरु गर्नुपर्ने अवस्था रहेको बताए ।

‘समन्वयमा कमी भयो कि ?’
सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप अभियानमा तीनवटै सरकारबीच समन्वय अभावमा राष्ट्रिय लक्ष्य प्राप्त गर्न असम्भव भएको हो कि भन्नेमा आशंका व्यक्त गरेका छन् । खोप अभियानकै विषयमा मन्त्रालयको टोलीको नेतृत्व गर्दै सुदूरपश्चिम पुगेका मन्त्री खापुङले एक अर्को निकायबीचको समन्वय अभावमा पनि खोप अभियानले राष्ट्रिय लक्ष्य प्राप्त नगरेको हुनसक्ने बताए ।

आइतबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘तीनवटा सरकार छन्, जुन सबै स्वायत्त छन्,’ उनले भने, ‘तीनवटै सरकारबीच एक अर्कामा प्रभावकारी समन्वय हुन नसक्दा पनि लक्ष्य प्राप्त नभएको हुनसक्छ ।’ उनले माथि केन्द्र सरकारबाट सुधार गर्नुपर्ने कुरामा आफूहरु तयार रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिमसहितका प्रदेशमा खोप अभियान कमजोर देखिएपछि केन्द्रमा चर्चाको विषय बनेको मन्त्री खापुङको भनाई छ ।

सुदूरपश्चिममा खोप अभियान कमजोर बनेपछि स्वयम प्रधानमन्त्रीले पनि यसतर्फ चाँसो दिएको उनले बताए । ‘यो प्रधानमन्त्रीले पनि चासो लिएको विषय हो,’ उनले भने, ‘यसलार्ई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा ध्यान दिऔं ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले खोप ढुवानी गर्ने साधनको अभावमा पनि कतिपय स्थानमा खोप कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । उनले सुदूरपश्चिमेलीहरु काममा लागि भारत जाने भएकोले पनि खोप लगाउने राखिएको राष्ट्रिय लक्ष्य पूरा हुन कठिनाइ हुने पनि बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य सचिव मधुसुधन बुर्लाकोटीले भारत जाने नेपाली र भारतबाट आउने भारतीयले एकअर्को देशमा खोप कार्डका आधारमा दोस्रो खोप लगाउने गरेर राजनीतिक तहबाट पहल हुनुपर्ने बताए ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर बाग्मती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशले राष्ट्रिय लक्ष्य हाँसिल गर्न सकेका छैनन् । सबैभन्दा पछाडि प्रदेश नम्बर २ छ । जहाँ खोपको पूर्ण खोज लगाउनेको संख्या ३७ प्रतिशत मात्रै छ । पहिलो खोप पनि ४८ प्रतिशतले मात्रै लगाएका छन् । त्यसपछि कर्णाली प्रदेशमा ४० प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् भने ५१ प्रतिशतले पहिलो खोज लगाएका छन् ।

त्यस्तै, लुम्बीनी प्रदेशमा ४४ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ७१ प्रतिशतले पहिलो खोप ल्याएको तथ्यांक छ । प्रदेश नम्बर १ मा ४८ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ५१ प्रतिशतले पहिलो खोप लगाएका छन् । राष्ट्रिय लक्ष्यअनुसार खोप अभियान सञ्चालन गर्न सफल भएका दुई प्रदेशमध्ये गण्डकी प्रदेशमा ७३ प्रतिशत जनताले पूर्ण खोपको मात्रा पाएका छन् । जहाँ ८२ प्रतिशतले खोपको पहिलो डोज लिइसकेका छन् । त्यस्तै, बागमती प्रदेशमा ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ७६ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् ।

लक्ष्य छुन सरकारनै असफल
समग्रमा सरकार नै १ प्रतिशतले पछाडि पर्दै राष्ट्रिय लक्ष्य छुन असफल भएको छ । देशभर ५२ प्रतिशतले मात्रै खोपको दोस्रो मात्रा वा पूर्ण खोप लगाएका छन् । पहिलो खोप लगाउनेको संख्या पनि ६६ प्रतिशत पुग्न नसकेको मत्रालयकै तथ्यांक छ । तथ्यांकअनुसार देशभर खोपको पहिलो मात्रा लगाउनेको संख्या पनि ६५ प्रतिशत मात्रै छ ।

मन्त्रालयका अनुसार हालसम्म १ करोड ५४ लाख ६९ हजार ८७६ नागरिकलाई खोप लगाइएको छ । अझै ४२ लाख ७३ हजार ५११ नागरिकलाई खोप लगाउन बाँकी रहेको मन्त्रालयको तथ्यांक छ ।


१९ पुस २०७८, सोमवार १३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु