विद्यालयमै पुगेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप
कञ्चनपुरमा विद्यालयमै पुगेर १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । जिल्लाका नौ वटै पालिकाका सबै वडाका विद्यालयमा बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्ध मोडर्ना खोप दिन सुरु गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले १२ देखि १८ वर्षसम्मका बालबालिकाको संख्या ६५ हजार रहेको अनुमान छ । पुस १० सम्म लक्षित उमेरका सबै बालबालिकालाई पहिलो मात्रा खोप लगाइसक्ने योजना रहेको स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए ।
जिल्लाका निजी र सामुदायिक गरी ५ सय १ विद्यालयमा पालैपालो स्वास्थ्यकर्मीको टोली पुगेर खोप दिइनेछ । पालिकाहरूमा स्वास्थ्यकर्मीको जनशक्तिका आधारमा सबै विद्यालयमा खोप दिइने छ । ‘खोप लगाउने काममा पालिकाबाटै टोली खटिएको छ,’ कुँवरले भने, ‘यो हप्ताभित्रै लक्षित समुदायका बालबालिकालाई पहिलो मात्रा खोप लगाई सकिने छ ।’
अहिले बालबालिकाहरूका लागि ६० हजार डोज खोप आएको छ । पहिलो मात्रामा लागि ५ हजार जति अपुग हुने अनुमान छ । एक महिनापछि दोस्रो मात्राको खोप दिइने छ । ओमिक्रोनको संक्रमणको जोखिम बढेसंँगै बालबालिकाहरूमा पनि त्रास बढेको छ । यही भएर पनि बालबालिकाहरू खोप लगाउदा खुसी देखिन्छन् ।
५ पुस २०७८, सोमवार ०९:४५ बजे प्रकाशित













